देब्रे आँखा कहिलेकाहीँ फर्फराउने गर्छ अझै
By bhishan on May 26th, 2009 at 09:58am
देब्रे आँखा कहिलेकाहीँ फर्फराउने गर्छ अझै।
सायद कोही नाम उसको बर्बराउने गर्छ अझै।
निको होला जस्तो छैन घाऊ मायापिरतीको,
बेलाबेला मन भित्रभित्रै चर्चराउने गर्छ अझै।
गाह्रो हुँदो रहेछ थाम्न हात एकचोटि छुटेपछि,
तस्बिर छुन खोज्दा पनि थर्थराउने गर्छ अझै।
घाम-पानी हावा हुरी रहेछ आखिर जिन्दगानी,
ओठमा हुँदा हाँसो आँखा झर्झराउने गर्छ अझै।
कहिले खल्लो कहिले टर्ो कहिले तितो मिठो,
स्वाद गजब यो पिरतिको पर्पराउने गर्छ अझै।
देब्रे आँखा कहिलेकाहीँ फर्फराउने गर्छ अझै।
सायद कोही नाम उसको बर्बराउने गर्छ अझै।
- bhishan's blog
- Login to post comments