एउटा फूलको कथा

एउत फूल ढकमक्क फुलेथ्यो,
आफ्नै तालमा सुगन्ध छर्दे,
उही तालमा आफूमा रङ भर्दै,
त्यही तालले ओइलिने दिनको प्रतिक्षा गर्दै ।

म हिंड्ने बाटो त्यहीँ पर्थ्यो,
त्यहाँबाट त्यो फुल प्रस्ट देखिन्थ्यो,
देख्दैमा स्पष्ट, चन्चल अनी सुन्दर त्यो फूल,
मलाई लोभ्याउने त्यो फूल ।

मैले चाहना गर्नु मेरो जिवन्तताको सबुत मान्छु ।
पर्खाल भित्र फुलेको त्यो नपाउँदा,
म ढुङ्गा हान्छु ।
अर्को अनी फेरी अर्को ढुङ्गा हान्छु ।
अनायासै फेरी,
त्यो कलात्मक फूल, के सोच्ला ठान्छु ।
अनी सरासर आफ्नो दैनिकी मा जान्छु ।

त्यो बाटो नचाहेर वा चाहेर म फेरी पनि हिंड्नु पर्छ,
किनकी मेरो जीवन तेसैमा डोरिनुछ ।

म त्यो फूल टिप्न,
अनी मेरो खल्तीमा सजाउन चाहन्छु,
खल्र्ती र मन सँगै हुन्छ रे ।
म अनायासै भावुक हुन्छु,
काश यस्तो होस् त्यो फूल बोलोस भनी माग्छु ।

म सोध्न चाहन्छु, त्यो ढुङ्गाले चोट त दिएन ?
म हेर्न चाहन्छु त्यो फूल, मेरो खल्तीमा,
कत्तिको सजिन्छ,
म बुझ्न चाहन्छु, त्यो फूल ।

तर पर्खाल शायद छ वा छैन,
मैले भ्रम मा परेर पो देखेको हो कि,
ठूलो देखिन्छ ।
म सक्दिन त्यसलाई भत्काउन ।
मैले बनाएको हैन त्यो ।

मान्छसँग प्रेम नगर्ने,
फूलको प्रेम म चाहन्न ।
मन पर्दैन त्यस्तो ।

म सोच्छु,
कुनै दिन पानी पर्ला,
असिना पर्ला वा
हुरी आउला,
त्यो फूल उडाउला,
मेरो सामु आएर बिस्तारै,
सास रोकिएको स्वरमा बोल्ला,
"तिमीले हानेको ढुङ्गाले मेरो मन दुखायो",
वा "तिमी म जस्तो निर्जिवलाइ किन चाहन्छै ?"
तर मसँग कुनै जवाफ हुनेछैन ।
जवाफ? समय बितेपछि के काम ।

म आफु भौतारिएको छु,
आफै अस्तब्यस्त छु ।
बस म यस्तो चाहन्छु,
त्यो फूल, बोलोस,
मान्छे बोल्दैनन यहाँ, फूल बोलोस
वा मैले ठान्नु पर्छ,
फूल पनि, म 'मान्छे' जस्तै निर्जिव रैछ ।
वा फूल पनि बोल्छ र!
यस्तै केही !
फलाक्नेछु ।